नमस्कार

३० औँ बर्ष शिक्षण सेवा मा लागेर अहिले निबृत्त रहेको म केवल एक सरकारी शिक्षक ।
नेपाली कला, संस्कृति, साहित्य, लोक संगीत को पारखी तथा जगेर्ना गर्न उन्मुख म एक साधारण व्यक्ति ।
शब्द रचनामा उत्सुक मनका केहि लेखहरु यहाँ सामु पस्किँदै छु आशा छ मन पराइ दिनुहुन्छ होला ।
धन्यवाद !


  • हाम्रो कोरिया यात्रा

    केही वर्ष पहिले थियोे राम्रो संजोग परेको
    कस्तो रहेछ हेर्न भनी दक्षिण कोरिया झरेको 
    दुई दिनको यात्रापछि विमानस्थलमा आइयो
    इन्चोन विमानस्थल रहेछ,सोधी थाहा पाइयो ।

    यात्रुलाई जाँच गर्ने रैछन तीनले थरीथरीका 
    कतै फोटो लिन्थे भने कतै भिन्दै तरीका 
    रोगी मानिस कोही नआओस् भनी जाँच गर्ने
    यस्तो जाँच देख्दा को पो नहोला दङ्ग पर्ने !

    बसमा यात्रा गर्दा पनि पैसै तिर्नु नपर्ने 
    मात्र एउटा कार्डले रैछ,ढोकामा छुनुपर्ने
    बसका चालक पनि सभ्य छैन मुन्द्रा भिर्याका
    यात्रुलाई अभिवादन गर्छन् कति राम्रो तरीका 

    बाटो पनि कति ठूलो गुड्छन चार लाइन 
    गति पनि अति तिव्र,हर्न बजेको थाहा पाइन
    समुन्द्रको माथि बनेको लामो पुल देखियो 
    कसरी वर्णन गरुँ खै,छोटोे कविता लेखियो।

    भोलिदेखि शहर हेर्न सबै हिड्यौं एकसाथ 
    कति अग्ला हुन् घरहरु ! तला एकसयआठ
    आकाशमा छिनछिनमा धेरै जहाज उडछन्
    जहाजको के कुरा! जमीनभित्र रेल गुडछन्।

    वृध्दव्यक्तिहरु पनि देखें अति जाँगरिला
    रोगी कमजोर देखिएनन् प्राय सबै रसीला
    हातहातमा मोबाइल छ,सबै अति व्यस्त 
    कतै धेरै भीड देखिन्छ काटनलाई रास्ता

    Everland भन्ने ठाउँ रहेछ एउटा अति राम्रो 
    विभिन्न खेल खेलाउने चाहना पुर्‍याउने हाम्रो 
    केवलकार,डुङ्गा ,अन्य खेलहरु खेल्न पाइन्छ 
    Roller skates छ तर खेल्न दरो मुटु चाहिन्छ ।

    सीओल टावर राम्रो छ भनी त्यहाँ पनि गइयो
    आकाशैबाट जस्तो गरि देख्न पाइने अरु के चाहियो ?
    झिलीमिली Seoul देखिन्छ मोटरका ताँती
    अद्भुत दृश्य देखिन्छ कि संसारै बिर्सने साथी

    होटलमा खाना ख्वाउने रैछ भिन्दै तरीका
    संङ्ख्या यति भनेपछि खाना थरीथरीका 
    आफ्नै अगाडिको टेबुलमा पकाई खान पाइने
    मिठोमीठो पाइन्छ तर खल्ती दरो चाहिने ।

    आफ्नै देशका मानिस पनि देखिए भिन्दै बानीका
    यस्तो व्यवहार देख्दा कताकता लाग्यो थोरै ननिका
    एउटी नेपाली बहिनी मेट्रोमा तर बोल्दै बोलिनन्
    आफैले नसोधेसम्म उनले नाम ठेगाना खोलिनन्

    सानासाना खोलाहरु देखिए शहरका माझमा
    घुम्न आउने रहेछन् मानिसहरु धेरै साँझमा
    पानी पनि अति सफा छ,लाग्छ नुहाउँ अहिल्यै
    हाम्रा बाग्मती,विष्णुमती यस्ता होलान खै कहिल्यै ?

    हरेक ठाउँमा शौचालय छ,प्रवेश सबै निशुल्क
    हाम्रो देशमा त छैन यस्तो भएपनि सशुल्क
    स्वचालित प्रविधि छ पानीको छैन कुनै दुर्गन्ध 
    देखि यस्तो सुव्यवस्था लाग्यो अति आनन्द ।

    एकैछिन लान्छु तपाईंहरुलाई तरकारी बजारमा 
    देखिन्छन् माछा थरीथरीका त्यहाँ हाम्रो नजरमा
    हरीया तरकारीहरु पनि त्यहाँ थिए धेरै थरीका 
    सबै प्याकेटमा पाइने कति राम्रो तरीका ।

    समुन्द्रको पानी पनि छुनलाई पाइयो आज
    थरीथरीका माछाको खाइयो मीठो खाजा
    Seagull चराको क्या काईदाको हुनेरैछ बानी
    हावामा फाल्थे खानेकुरा हावैमा टिपेर खानी

    कहिले पनि पूरा हुन्न मानिसको रहर
    अहिलेलाई देख्न पाइयो कोरियाको शहर
    तारतम्य मिले यदि कान्छा छोराले बोलाए !
    मनभित्र लागिराछ अष्ट्रेलिया घुम्नलाई पाए।

    भाग्यमा लेखिएको रहेछ,दक्षिण कोरिया आइयो
    नौलो ठाउँ देखियो ,नौला खानेकुरा नि खाइयो
    मौका मिलेछ भने कतै फेरि फर्की आउँला यो ठाउँमा 
    यस्तै कुरा मनमा लीएर फर्की आइयो फेरि आफ्नै गाउँमा ।

  • बाल्यकालका अमूल्य संझनाहरु

    बाबियोको डोरी बाटेर लिङ्गेपिङ हालिन्थ्यो
    साउने संक्रान्तिको बेलामा राँको बालिन्थ्यो
    पाइप गोलोबनाई साईकल बनाई गुडाउँथ्यौं
    खड्गदेवी मन्दिरमा गई चङ्गा उडाउँथ्यौं।

    रोपाइँजात्रा सिङ्गारीएर रमाइलो गरीन्थ्यो
    घरघरमा मागेको पैसाले खल्ती भरीन्थ्यो
    फूलपातीमा रातैभरी चूडका नाचेको हेरीन्थ्यो
    नजा भन्थे घरकाले तर के को टेरीन्थ्यो ?

    बाँसको पचुका बनाई फागुमा रंग हानेको 
    ठूलाठूला मुढा ल्याएर शिवरात्री मानेको
    एकादशी जात्रा हेर्दै अस्पतेमा डुलेको
    यस्तै यस्तै संझनाहरु छैन मैले भुलेको।

  • परदेशीको चिठ्ठी

    सबै व्यवहार छोडेकोछु तिम्रै भरमा पियारी 
    राम्रो संग बसिराख बालबच्चा सियारी 
    पाएसम्म छुट्टी मिलाई आउँछु हरेक वर्ष 
    जीवनमा कहिले आँशु कहिले हुन्छ हर्ष । 

    सकेसम्म जोगाएर पठाउँला कमाइ  
    धेरै खर्च नगर्नु है राखिराख्नु समाई 
    चिप्लो पारी पारी कोही पैसा माग्न आउलान  
    एक पटकमा नपाए नि बारम्बार धाउलान । 

    पैसा फुत्काइ लगेपछि फिर्ता पाउन गार्हो 
    त्यही पैसा बन्छ पछि मायाको तगारो 
    सधैँ संगै बस्छु भन्थे यस्तै भयो चाल  
    जे भए नि नछुटोस है हाम्रो मायाजाल । 

  • घुमौं भरतपुर

    चितवन पोस्ट मा छापिएको मेरो एक कविता भरतपुर भ्रमण वर्ष को मौका पारि

    केरा, आँप, लिचीलगायतका फलफूल फल्छन्‌ थरीथरी
    धेरै जिल्लाका मानिस बस्दछन्‌ यहाँ विविध पेसा गरी
    खाद्यान्न बाली पनि राम्रो उब्जनी हुने यहाँको मलिलो छ माटो
    पूर्वपश्चिम यात्रा गर्छन्‌ दैनिक हजारौँ यसै ठाउँको बाटो ।

    प्याराग्लाइडिङ गर्ने मन भएमा यदि चौकीडाँडा जाउँ
    वरिपरिका सुन्दर दृश्य देखिने अति रमाइलो छ ठाउँ
    मस्जिद छ, गुम्बाहरू छन्‌ अनि मन्दिरहरू कति कति
    जोगाएर राखिराख्नुछ हामीले यी अमूल्य सम्पत्ति | |

    बाइपास बाटो कति राम्रो ढकमक्क फूल फूलेको
    भरतपुरको चौतर्फी विकास देख्दा यो मनै भुलेको ,
    जोर्‌कुसुम पार्क पनि दिनदिन बन्दैछ झन्‌झन्‌ राम्रो
    नदीकिनार शीतल हावा चलिरहन्छ गहना हो हाम्रो ।

    रिसोर्टहरू खुलेका छन्‌ नगरका विभिन्न ठाउँमा
    होमस्टेहरू पनि चलाएका छन्‌ जाने भए गाउँमा
    भाटभटेनीमा किनमेल गरौँ विविध सामान भेटिन्छ
    एकपटक त जानैपर्दछ विदेशको झल्को मेटिन्छ |

    नारायणीमा मोटरबोट चढी जलयात्रा गरौँ
    नयाँ नौला साथीहरूसँग पवित्र हार्दिकता छरौँ
    मिलिजूली बस्दछन्‌ यहाँ विभिन्न जातजाति
    जोगाएर राखेका छन्‌ सबैले आआफ्नो संस्कृति |

    उन्तिसै वडाहरूमा चल्दैछ विकासको लहर
    देशैभरिमा बन्दैछ हाम्रो भरतपुर नमुना सहर
    लेख्नुपर्ने कति कुराहरू पक्कै छुटेको पनि होला
    क्षमा दिनुहोला मलाई थाप्दछु माफीरूपी यो झोला |

  • भरत तालको चर्चा

    धेरै चर्चा सुनेका थियौं छ रे अति राम्रो 
    भरतताल हेर्ने धोको पूरा भयो हाम्रो 
    मिनीपानीजहाज चढी तालमा घुम्यौं सररर
    चन्द्रसूर्य अंकित झन्डा साथमा फररर

    धन्यवाद छ निर्माणकर्ता सम्पूर्ण जनलाई
    त्यस क्षेत्रका निवासीहरुका चोखो मनलाई 
    आफ्नो आफ्नो ठाउँमा जुटौं न यस्तै केही गर्न
    एकजुट भए सकिन्छ है भन्ने सन्देश छर्न।

  • नया वर्ष २०८० को शुभकामना

    चन्द्रमा दाहिने भइरहुन् सधैं मेरा परिवार,इष्टमित्र आफन्तका साथमा
    दु:ख, बिमार कहिल्यै नपरोस् आराम रहोस् उहाँहरुकोगाथमा
    रक्षा गरुन् पशुपतिनाथ,मौलाकालिका,माता छिम्केश्वरी,मनकामना 
    नववर्ष २०८० को पावन अवसरमा सबैलाई 

    हार्दिक शुभकामना ।