हाम्रो कोरिया यात्रा

केही वर्ष पहिले थियोे राम्रो संजोग परेको
कस्तो रहेछ हेर्न भनी दक्षिण कोरिया झरेको 
दुई दिनको यात्रापछि विमानस्थलमा आइयो
इन्चोन विमानस्थल रहेछ,सोधी थाहा पाइयो ।

यात्रुलाई जाँच गर्ने रैछन तीनले थरीथरीका 
कतै फोटो लिन्थे भने कतै भिन्दै तरीका 
रोगी मानिस कोही नआओस् भनी जाँच गर्ने
यस्तो जाँच देख्दा को पो नहोला दङ्ग पर्ने !

बसमा यात्रा गर्दा पनि पैसै तिर्नु नपर्ने 
मात्र एउटा कार्डले रैछ,ढोकामा छुनुपर्ने
बसका चालक पनि सभ्य छैन मुन्द्रा भिर्याका
यात्रुलाई अभिवादन गर्छन् कति राम्रो तरीका 

बाटो पनि कति ठूलो गुड्छन चार लाइन 
गति पनि अति तिव्र,हर्न बजेको थाहा पाइन
समुन्द्रको माथि बनेको लामो पुल देखियो 
कसरी वर्णन गरुँ खै,छोटोे कविता लेखियो।

भोलिदेखि शहर हेर्न सबै हिड्यौं एकसाथ 
कति अग्ला हुन् घरहरु ! तला एकसयआठ
आकाशमा छिनछिनमा धेरै जहाज उडछन्
जहाजको के कुरा! जमीनभित्र रेल गुडछन्।

वृध्दव्यक्तिहरु पनि देखें अति जाँगरिला
रोगी कमजोर देखिएनन् प्राय सबै रसीला
हातहातमा मोबाइल छ,सबै अति व्यस्त 
कतै धेरै भीड देखिन्छ काटनलाई रास्ता

Everland भन्ने ठाउँ रहेछ एउटा अति राम्रो 
विभिन्न खेल खेलाउने चाहना पुर्‍याउने हाम्रो 
केवलकार,डुङ्गा ,अन्य खेलहरु खेल्न पाइन्छ 
Roller skates छ तर खेल्न दरो मुटु चाहिन्छ ।

सीओल टावर राम्रो छ भनी त्यहाँ पनि गइयो
आकाशैबाट जस्तो गरि देख्न पाइने अरु के चाहियो ?
झिलीमिली Seoul देखिन्छ मोटरका ताँती
अद्भुत दृश्य देखिन्छ कि संसारै बिर्सने साथी

होटलमा खाना ख्वाउने रैछ भिन्दै तरीका
संङ्ख्या यति भनेपछि खाना थरीथरीका 
आफ्नै अगाडिको टेबुलमा पकाई खान पाइने
मिठोमीठो पाइन्छ तर खल्ती दरो चाहिने ।

आफ्नै देशका मानिस पनि देखिए भिन्दै बानीका
यस्तो व्यवहार देख्दा कताकता लाग्यो थोरै ननिका
एउटी नेपाली बहिनी मेट्रोमा तर बोल्दै बोलिनन्
आफैले नसोधेसम्म उनले नाम ठेगाना खोलिनन्

सानासाना खोलाहरु देखिए शहरका माझमा
घुम्न आउने रहेछन् मानिसहरु धेरै साँझमा
पानी पनि अति सफा छ,लाग्छ नुहाउँ अहिल्यै
हाम्रा बाग्मती,विष्णुमती यस्ता होलान खै कहिल्यै ?

हरेक ठाउँमा शौचालय छ,प्रवेश सबै निशुल्क
हाम्रो देशमा त छैन यस्तो भएपनि सशुल्क
स्वचालित प्रविधि छ पानीको छैन कुनै दुर्गन्ध 
देखि यस्तो सुव्यवस्था लाग्यो अति आनन्द ।

एकैछिन लान्छु तपाईंहरुलाई तरकारी बजारमा 
देखिन्छन् माछा थरीथरीका त्यहाँ हाम्रो नजरमा
हरीया तरकारीहरु पनि त्यहाँ थिए धेरै थरीका 
सबै प्याकेटमा पाइने कति राम्रो तरीका ।

समुन्द्रको पानी पनि छुनलाई पाइयो आज
थरीथरीका माछाको खाइयो मीठो खाजा
Seagull चराको क्या काईदाको हुनेरैछ बानी
हावामा फाल्थे खानेकुरा हावैमा टिपेर खानी

कहिले पनि पूरा हुन्न मानिसको रहर
अहिलेलाई देख्न पाइयो कोरियाको शहर
तारतम्य मिले यदि कान्छा छोराले बोलाए !
मनभित्र लागिराछ अष्ट्रेलिया घुम्नलाई पाए।

भाग्यमा लेखिएको रहेछ,दक्षिण कोरिया आइयो
नौलो ठाउँ देखियो ,नौला खानेकुरा नि खाइयो
मौका मिलेछ भने कतै फेरि फर्की आउँला यो ठाउँमा 
यस्तै कुरा मनमा लीएर फर्की आइयो फेरि आफ्नै गाउँमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *